कृषि सामग्री कम्पनी लिमिटेड:

नेपाल एउटा कृषि प्रधान देश हो । आय आर्जन र रोजगारीको लागि कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो र राष्ट्रिय कुल ग्रास्थ उत्पादनको करिब 27% यस क्षेत्रबाटै उठ्ने गरेको छ । कूल जनसंख्याको करिब 65% जनसंख्याको जीवनयापन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापबाटै हुने गरेको छ । उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, वीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको लागि सार्वजनिक क्षेत्रको संस्थाको रुपमा वि.सं. २०२२ मा कृषि सामग्री संस्थानको स्थापना भएको थियो । शुरुमा कृषि सप्लाई संस्थानको रुपमा परिचित यस संस्थालाई पछि खाद्य व्यवस्था समितिमा गाभेर कृषि खरिद विक्री संस्थानको नाम दिइयो । दुई वर्षसम्म यो संस्थाले कृषि सामग्री र खाद्यान्न दुवै वस्तुको कारोबार गर्‍यो । पछि वि.सं. २०३१ मा सरकारले यस संस्थालाई विभाजन गरेर कृषि सामग्रीहरुको व्यवस्थापन गर्न कृषि सामग्री संस्थान र खाद्यान्नको कारोवार गर्न नेपाल खाद्य संस्थान गरी दुई वटा वेग्ला वेग्लै संस्थान खडा गरिए । वि.सं. २०५९।१।२५ मा सरकारले कृषि सामग्री संस्थानलाई कम्पनी ऐन वि.सं. २०५३ अन्तर्गत सरकारको पूर्ण स्वामित्व रहने गरी कृषि सामग्री कम्पनी र राष्ट्रिय वीउ विजन कम्पनीमा रुपान्तरण गर्यो । कृषि सामग्री कम्पनीलाई रासायनिक मल खरिद गरी राष्ट्रभर विक्री वितरण गर्ने जिम्मा दिइयो । नेपालमा रासायनिक मलको आफ्नै उत्पादन नभएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त अनुदान बजेटका आधारमा अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल खरिद गरी विक्री वितरण गरिरहेको छ । नेपाल सकरको मिति 2075/05/31 को निर्णय बमोजिम राष्ट्रिय बीउ बीजन कम्पनी लिमिटेडलाई यस कम्पनीमा मर्ज गरी बीउ बीजनको कारोबार समेत गर्ने गरेको छ ।

मलखाद नीति:

कृषि उत्पादनलाई बढवा दिन र रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल सरकारले रासायनिक एवं प्राङ्गारिक मलमा अनुदान दिने गरी पुनः वि.सं. २०६५।१२।१२ मा नीतिगत निर्णय गर्‍यो र त्यतिवेला अनुदानित मलको आयात एवं विक्री वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडलाई दिइयो । वि.सं. २०२९ सम्म लागत जोडेर मूल्य कायम गर्ने नीति अपनाइएको कारण तराईको भन्दा पहाडको मूल्य वढी निर्धारण गरिएको थियो । रासायनिक मलको पहाडको खुद्रा मुल्य वास्तविक ढुवानी भाडाको अनुपातमा उच्च निर्धारण गरिएको थियो । वि.सं. २०२९ मा भएको तेलको अत्यधिक अभाव र रसायनिक मलको मूल्यमा भएको वृद्धिका कारण सरकारले देशभरी नै मलको अधिकतम खुद्रा मूल्य तोकेर मलमा अनुदान दिने नीति समेत अंगीकार गर्यो । वि.सं. २०५४ मा सरकारले रासायनिक मलको क्षेत्रमा नीतिगत घोषणा गर्दै गैर युरिया मलहरुमा अनुदान पूर्णरुपमा हटाउने र युरियाको हकमा समेत चरणवद्धरुपमा अनुदान हटाउंदै लैजाने निर्णय गर्‍यो । त्यस्तै सार्वजनिक तथा नीजि क्षेत्रको समेत सहभागिताको अनुकूल हुने गरी नीति र संस्थागत वातावरण सृजना गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत एक रासायनिक मल इकाईको स्थापना गर्ने निर्णय समेत सरकारबाट भयो । मलमा अनुदान हटाउने नीतिले मलको नियमित आपूर्तिको साथसाथै गुणस्तर नियन्त्रणमा समेत आशातीत सफलता हासिल गर्न नसकेकोले यो नीति ज्यादै असफल रह्यो । अन्तर्राष्ट्रिय वजारमा आएको मूल्य वृद्धि, खुला सीमा पारी किसानहरुले रासायनिक मलमा पाएको भारी मूल्य अनुदान र अवैधानिक व्यापारबाट भित्रीने मल जस्ता वाह्य कारणहरुले समेत सो परिस्थितिलाई थप टेवा पुर्‍याए। फलतः मिति २०६५।१२।१२ मा सरकारले रासायनिक मलमा पुन: अनुदान दिने घोषणा गर्‍यो ।

अनुदानीत रासायनिक मल नीतिका मूख्य विशेषताहरु:

• कृषि सामग्री कम्पनी लिमिटेड मार्फत अनुदानीत मलको आयात ।
• कृषि विकास मत्रालयका सचिवको अध्यक्षतामा अनुदान वितरण व्यवस्थापन समितिको प्रावधान ।
• खुद्रा मूल्य निर्धारण र अनुदान निकासाका लागि समिति जिम्मेवार ।
• पहाड र तराईमा क्रमशः 15 रोपनी र ४ हेक्टर जमीन भएका कृषकहरुलाई एक वर्षमा ३ वालीको लागि अनुदानित मल उपलब्ध गराइने ।
• मलको विक्री कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक तथा शाखा कार्यालयहरुबाट सहकारी संघ/संस्थाहरु मार्फत हुने ।

मलको मूल्य निर्धारण:

नयाँ मल नीति अन्तर्गत पाँंच आयात विन्दुहरुको एकल खुद्रा विक्री मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा रहने अनुदान वितरण व्यवस्थापन समितिले गर्ने गर्दछ । तर वर्तमान अवस्थामा मलको आयात तीनवटा आयात विन्दुबाट मात्र भईरहेकोले यी तीनवटै विन्दु (विराटनगर, वीरगञ्ज र भैरहवा) को खुद्रा विक्री मूल्य निर्धारण गर्दा आयात मूल्य, ढुवानी खर्च, परिचालन खर्च, र भारतमा तत्काल रहेको खुद्रा मूल्यलाई समेत मध्यनजर राखी गर्ने गरिन्छ । आयात विन्दुका ३ जिल्ला बाहेक अन्यत्र जिल्लाहरुको खुद्रा मूल्य निर्धारण गर्दा आयात विन्दुबाट लाग्ने ढुवानी भाडा जोडी कायम गर्ने गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि सामग्री कम्पनीलाई अनुदान वापतको रकम ३ किस्तामा भुक्तानी गर्ने गर्दछ र आर्थिक वर्षको अन्त्यमा उच्चस्तरीय समितिले अनुदान हिसाबको फर्छयौट गर्ने गर्दछ ।

मलखाद वितरण:

देशैभरी रसायनिक मलको विक्री वितरणमा कृषि सामग्री कम्पनीका प्रदेश तथा जिल्लास्थित कार्यालयहरुले बिक्रेता सहकारीहरु मार्फत गर्ने गरिरहेको छ । कम्पनीको संचालक समितिले अनुमोदन गरेको विक्रेता नियमावली अन्तर्गत कृषि सामग्री कम्पनीले विक्रेताहरुलाई नियुक्ति गर्ने गर्दछ । वर्तमानमा 5,300 सहकारी संघ/संस्थाहरुले मल विक्रेताका रुपमा काम गर्दै आएका छन् । जिल्लास्तरमा मल आपूर्ति तथा वितरण व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा रहेको उक्त समितिले स्वतन्त्र तथा निष्पक्षरुपमा नियमित मल आपूर्ति तथा वितरण कार्यको अनुगमन गर्दै आएको छ ।

मलखाद खरिद:

कृषि सामग्री कम्पनीले वि.सं. २०६५ देखि अनुदानको मलको खरिद कार्यको जिम्मेवारी पाउंदै आएको छ । रासायनिक मल अन्तर्राष्ट्रिय ग्लोवल टेण्डरको माध्यमबाट सि.आई.एफ. कलकत्ता/हल्दिया वा सि.आई.पी. नेपाल सीमाको गोदाम विराटनगर, वीरगञ्ज, भैरहवा डेलिभरीका आधारमा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्ने गरेको छ । कम्पनीले मल खरिदको लागि नेपालबाट प्रकाशित हुने ख्याती प्राप्त राष्ट्रिय दैनिक पत्रिकामा वोलपत्र आव्हान गर्ने गर्दछ । वोलपत्र आव्हान कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त खरिद योजना अनुसार वालीनालीमा हुने मागका आधारमा गर्ने गरिन्छ । कम्पनीले स्वीकृत बार्षिक खरिद योजना अनुसार ग्लोबल टेण्डर आव्हान गर्ने गर्दछ । सामान्यतया अन्तर्राष्ट्रिय वोलपत्र मार्फत मल आयात गर्न ५–६ महिना लाग्ने गरेको छ । त्यसैले बाली सिजनमा भन्दा 5-6 महिना अगावै मल खरिदका लागि बोलपत्रका प्रकृयाहरु संचालन गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय वोलपत्रका अतिरिक्त यस कम्पनीले जि.टु.जि. मार्फत पनि मल आयात गर्ने गरेको छ । साथै कम्पनीले नेपाल सरकारलाई कुनै दाता मुलुकबाट प्राप्त हुने सहयोगको मलको संचय तथा विक्री वितरण समेत गर्ने गरेको छ ।

उद्देश्य:

कृषि उत्पादन बृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभूतिका लागि नेपाल सरकारले रासायनिक मलमा अनुदानको कार्यक्रम पुनः लागू गरेको छ । सरकारको यो आकांक्षा पुरा गर्नको लागि कृषि सामग्री कम्पनी सदैव तत्पर रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका उद्देश्यहरु निम्न अनुसार रहेका छन्:-
• राष्ट्रिय आवश्यकतानुसार विभिन्न प्रकारका रासायनिक मल, जैविक मल, कृषि चुन, प्राङ्गरिक मल र सुक्ष्म तत्व मलहरुको उत्पादन, खरिद, आयात, विक्री वितरण तथा विभिन्न बालीका बीउ बिजनको उत्पादन, खरिद, प्रशोधन, संचय र आयात निर्यात तथा विक्री वितरण गर्ने,
• रासायनिक मल उत्पादनको लागि आवश्यक कच्चा पदार्थ आयात गरी प्रशोधन, उत्पादन तथा मिश्रण (Blending) गरी विक्री वितरण, आयात र निर्यात गर्ने,
• कृषि उत्पादनको लागि आवश्यक पर्ने मुल बीउ लगायत खाद्यान्न, तरकारी तथा अन्य वालीका उन्नत बीउको उत्पादन, खरीद, प्रशोधन, संचय, विक्री वितरण कार्य गर्ने एवं आवश्यकतानुसार तालिम एवं परामर्श सेवा सम्बन्धी कार्यहरु गर्ने,
• नेपाल कृषि अनुसन्धान परिषद्संगको समन्वयमा समय सापेक्ष प्रजनन् वीउ (Breeder Seed) उत्पादन गर्ने,
• निजी क्षेत्रका वीउ उत्पादक कम्पनीहरुलाई कम्पनीको आफ्नो व्राण्डको नाममा उन्नत वीउ उत्पादन तथा विक्री गर्न श्रोत वीउको रुपमा थोक विक्री गर्ने,
• कृषि क्षेत्रको लागि आवश्यक पर्ने कीटनाशक तथा रोगनाशक कृषि रासायनिक (बिषादी) र कृषि औजारहरुको कारोवार गर्ने,
• नेपाल सरकार दातृराष्ट्र एवं राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाबाट उपलब्ध हुने सहायता अन्तर्गतका रासायनिक मल उन्नत बीउको संचित मौज्दात (Buffer Stock) को व्यवस्था एवं परिचालन गरी रासायनिक मल तथा उन्नत बीउको आपूर्ति र विक्री वितरणमा सुनिश्चितता ल्याउने,
• कम्पनीलाई आय आर्जन हुने औद्योगिक, व्यापारिक एवं सेवामूलक कारोवार संचालन गर्ने/गराउने ।

अन्य गतिविधिहरु: :

संस्थालाई दिगो राख्न तथा बहुउद्देश्यहरु पूर्ति गर्न कम्पनीले निम्न गतिविधिहरु समेत गर्ने गरेको छ :-
• कम्पनीले आफ्नो व्यापार विविधिकरण गरी अत्यावश्यक वस्तुको अटुटरुपमा देशभर आपूर्ति गर्ने योजना वनाएको छ ।
• आ.व.०७२।७३ देखि कृषि चूनको खरिद तथा बिक्रि वितरण हुँदै आएको छ ।
• देशको महत्वपूर्ण व्यापारीक स्थानहरुमा कम्पनीका जग्गा तथा भौतिक संरचनाहरु रहेका छन् । तसर्थ कम्पनीको हाल प्रयोगमा नरहेका भौतिक संरचनाहरु आवश्यकता अनुसार भाडामा दिई वा विक्री गरी आयआर्जन गर्न तथा अन्य कार्यक्रम संचालन गर्ने दीर्घकालिन नीति अपनाइएको छ ।
• माटोको गुणस्तर कायम राख्न आ.व. 077/78 देखि केही सुक्ष्म तत्वहरुको विक्री वितरण र बाली उत्पादन लागत घटाउन केही कृषि औजार उपकरणहरुको कारोबार गर्ने योजना रहेको छ ।
• आ.व 076/77 देखि राष्ट्रिय वीउ वीजन कम्पनी पुन: यस कम्पनीमा गाभिएको हुँदा बीउ वीजन कम्पनीले गर्दै आएको निम्न कार्यहरु यस कम्पनीले गर्दै आएको छ।
•धान, गहुँ, मकै, मुसुरो तथा तोरीको बिजबृद्धी कार्यक्रम गर्न सरकारी निकाय तथा विभिन्न निकायबाट बीउहरु संकलन गर्ने ।
•कृषकहरुसँग सम्झौतागरी बिजबृद्धि कार्यक्रम संचालन गर्ने । •कार्ययोजना बमोजिम संकलन गरिएका बीउहरु विक्री वितरण गर्ने ।

 
 

Site Visit:

Site Updated On : 2024-03-18

Social Media: Facebook

Copyright ©, 2024 Krishi Samgri Company Ltd.   All Right Reserved.